काठमाडौँमा आइतबार भएको शिक्षक आन्दोलन झडपमा परिणत भएपछि आन्दोलनरत शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। विगत २५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीबाट लाठी प्रहार र पानीको फोहोरा प्रहार भएको थियो।
प्रहरीको बल प्रयोगपछि आक्रोशित शिक्षकहरूले ढुंगामुढा गर्दै प्रतिकार गरे। झडपपछि आन्दोलनकारीहरू ‘गृहमन्त्री राजीनामा दे’ भन्दै सरकारविरुद्ध नाराबाजीमा उत्रिएका थिए ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले चैत २५ बाट शैक्षिक हड्तालसमेत घोषणा गरेका छन्।
उनीहरूले शिक्षा ऐन जारी नभएसम्म आन्दोलन अझ कडा बनाउने चेतावनी दिएका छन्।