काठमाडौँको नयाँ बानेश्वरमा आइतबार भएको आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन्। निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार र पानीको फोहोरा प्रयोग गरेको थियो।
बल प्रयोग भएपछि आक्रोशित शिक्षकहरूले प्रतिकार गर्दै ढुंगामुढा गरेका थिए। झडपमा घाइते भएका शिक्षकहरूको सिभिल हस्पिटलमा र आन्दोलन स्थलमै प्राथमिक उपचार भइरहेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिएका छन्।
घटनाले आन्दोलन थप उग्र बनेपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। दिउँसो तीन बजे बानेश्वरस्थित रत्नराज्य माविमा बोलाइएको बैठकमा महासंघका पदाधिकारी, जिल्ला अध्यक्ष तथा आन्दोलन परिचालन समितिका सदस्यहरू सहभागी हुँदैछन्।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको घटना र आन्दोलनको आगामी रणनीतिबारे बैठकमा निर्णय गरिने जानकारी दिएका छन्।