• २०८३ असार ८
  • 2026 June 22, Monday

‘शिक्षकको आवाज बेवास्ता भयो भने सिंहदरबार र बालुवाटार सुरक्षित रहनेछैन’ : मेटमणि चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकारलाई चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले सरकार शिक्षा ऐनमार्फत शिक्षकहरूको माग सम्बोधन गर्न असफल भएमा “सिंहदरबार र बालुवाटार छाड्नुपर्ने परिस्थिति आउन सक्ने” बताए। उनले सरकारको ढिलासुस्ती र दमनपूर्ण व्यवहारप्रति आक्रोश व्यक्त गरे।

“शिक्षकहरूका मागअनुसार शिक्षा विधेयक टुंग्याउन हार्दिक अनुरोध गर्दछु,” चौधरीले भने, “अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने अवस्था आउन सक्छ। शासकहरू भागेको इतिहास त सबैले पढेकै हो।

”उनले सरकार बहुमत वा दुईतिहाइको भरमा जनताको आवाज उपेक्षा गर्न नहुने भन्दै बंगलादेशको उदाहरण स्मरण गराए। चौधरीले आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमनकारी रवैया अपनाएको आरोप लगाउँदै आफ्नो पार्टीको तर्फबाट घोर भर्त्सना पनि जनाए।