काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवको पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ।
बुधबार सार्वजनिक भएको भिडिओमा डा. सिंह केही व्यक्तिहरूसँग नाचिरहेको देखिन्छन्। सोही क्रममा उनले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको दृश्य पनि कैद भएको छ, जसमा गोली पड्किएपछि धुवाँ निस्किएको देखिन्छ। त्यसपछि अर्का एक व्यक्तिले उक्त पेस्तोल समाउँदै गरेको दृश्य पनि भिडिओमा देखिएको छ।भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे छानबिन थालेको जनाएको छ।
कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार भिडिओ कहाँ र कहिले खिचिएको भन्नेबारे हालसम्म यकिन भइसकेको छैन। ‘हामीले उहाँ (डा. सिंह) लाई बयानका लागि बोलाइसकेका छौं,’ एसपी खतिवडाले भने, ‘उहाँ आउँदै हुनुहुन्छ भन्ने जानकारी आएको छ। त्यसपछि घटनाको यथार्थ खुल्नेछ।’डा. यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा हुन्। उनी राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी तथा जसपा नेपालकी केन्द्रीय उपाध्यक्ष पनि हुन्।