काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै आजै साँझ नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बिहीबार बसेको आकस्मिक बैठकले साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो। परिषद्का एक पदाधिकारीले भने, “महासंघले हामीसँग भएको सहमति विपरीत सरकारसँग सम्झौता गरेको छ, त्यसप्रति हाम्रो स्पष्ट विमति छ।”
सरकारसँगको सहमतिपछि आयोजित जानकारीमूलक कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए। सो क्रममा तनावपूर्ण अवस्था सिर्जना भएपछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीको समन्वयमा कार्यक्रमस्थलबाट बाहिरिएका थिए। विरोध प्रदर्शनपछि बसेको परिषद्को बैठकले आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएको हो।