विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस जगत्को भूमिका उच्च मूल्याङ्कन गरेका छन्। उनले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका क्रममा भएका आन्दोलन र जनयुद्धको उपलब्धिका रूपमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय रहेको बताए।
सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई शुभकामना दिँदै उनले यो दिवसले पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितातर्फ प्रेरणा दिने विश्वास व्यक्त गरे। संविधान र कानुनमा ग्यारेन्टी गरिएका प्रेस स्वतन्त्रतालाई व्यवहारमा लागू गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले यस दिशामा प्रेस जगत् निरन्तर लागिरहने विश्वास व्यक्त गरेका छन्।
प्रचण्डले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको मेरुदण्डका रूपमा सम्बोधन गरेका छन्।