राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएकी छन्। कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रममा उनले लामिछानेविरुद्धको मुद्दामा कुनै दम नरहेको बताएकी थिइन्।
“हामी नेतृत्वको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं। तर कानुनको विद्यार्थीको हैसियतले भन्न चाहन्छु, रवि लामिछानेमाथि टालटुल गरेर मुद्दा बनाइएको हो,” गौतमले स्पष्ट पारिन्।
उनले न्यायालयबाट सभापति लामिछानेलाई न्याय मिल्ने विश्वास व्यक्त गर्दै, वर्तमान सरकार रास्वपाले उठाएका मुद्दा दबाउन लागिपरेको आरोप समेत लगाइन्। “पोखरा विमानस्थलमा १४ अर्बको भ्रष्टाचार, वाइडबडी, गिरिबन्धु र भुटानी शरणार्थी प्रकरण खुलिसकेका छन्, तर ढाकछोपको प्रयास भइरहेको छ,” उनले भनिन्।
गौतमका अनुसार, सरकार बनेको १० महिना पुग्दासमेत जनतालाई आशा दिने काम हुन सकेको छैन। “देशभर निराशा छाएको छ, सरकार सच्चियोस्,” उनले जोड दिइन्।