• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मौसम खराबीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं। देशभरको प्रतिकूल मौसमका कारण हवाई उडानहरू प्रभावित भएका छन्। लगातारको वर्षाले ‘भिजिबिलिटी’ कमजोर भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलमा उडानमा असर परेको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम र न्यून दृश्यताका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन्। उनका अनुसार आज बिहान ‘इन-रुट वेदर’ को कारण अन्तर्राष्ट्रिय उडानतर्फ जजिरा एयरको विमान भारतको बनारस डाइभर्ट गरिएको छ भने आन्तरिकतर्फ बुद्ध एयरको माउन्टेन फ्लाइट पनि डाइभर्ट भएको हो।

रामेछापबाट लुक्लातर्फ उडान भर्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण गन्तव्य परिवर्तन गर्नुपरेको छ। यद्यपि, वर्षा रोकिएसँगै काठमाडौंसहित अन्य क्षेत्रीय विमानस्थलहरूबाट सामान्य रूपमा उडानहरू सञ्चालनमा आएको प्रवक्ता शेर्पाले जानकारी दिए। तर, दुर्गम क्षेत्रका केही विमानस्थलमा उडान अझै अवरुद्ध छन्। नेपाल वायुसेवा निगमको काठमाडौं–थामखर्क उडान पनि डाइभर्ट गरिएको छ। आज बिहानैदेखि काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो। अहिले मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले काठमाडौंसहित पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। साथै, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागका केही स्थान र बाँकी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।