• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भक्तपुरमा कक्षा १२ को पेपर लिक, चानक्य कलेजमा छानबिन टोली खटाइयो

भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले छानविन प्रक्रिया अगाडी बढाएको छ ।

काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो । परीक्षा सुरु हुनु अघि नै विद्यार्थीको हातमा प्रश्नपत्र पुगेको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन थालेको थियो ।

अनुगमन टोलीले प्रहरी र एनइबीका आइटी टोलीलाई राखेर छानविन समिति बनाइएको छ जसले अहिले छानविन गरिरहेको छ ।

कलेजमा परीक्षार्थीको मोवाइल जफत गरेर अहिले अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ । परीक्षा सकिएपछी पनि काठमाडौं वर्ल्ड स्कुलका परीक्षार्थीलाई भने केहि समयसम्म बाहिर निस्कन दिइएको थिएन ।

शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए । एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय लिक भएको थियो ।

अघिल्लो वर्ष पनि काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र लिक भएको तर परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले हावा कुरा भएको भनेर पन्छिएका थिए ।
तर यसपटक भने जिल्ला प्रशासन कार्यालयले नै अग्रसरता लिएर प्राविधिक टोलीसहित अनुसन्धान थालेको छ।