काठमाडौँ तारकेश्वर–१० स्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुल परीक्षा केन्द्रमा ७३ वर्षीया सूर्यवती खनालले कक्षा १२ को परीक्षा दिएकी छन्। चार सन्तानकी आमा र तीन नातिनातिनाकी हजुरआमा खनाल तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी नियमित विद्यार्थी हुन्।
उनको जन्म २००९ साउन ९ मा भएको भनेर प्रवेश पत्रमा उल्लेख गरिएको छ । यसअघि सूर्यवतीले एसईई चेतना महिला माविबाट पास गरेकी थिइन्। उनका श्रीमान् स्वयं पनि शिक्षक पेसामै आवद्द रहेका छन् ।
आजबाट सुरु भएको कक्षा १२ को परीक्षा पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। देशभर १,५९१ परीक्षा केन्द्र तोकिएका छन्, काठमाडौंमा मात्रै १६२ केन्द्र रहेको छ ।
परीक्षामा पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी छन्। मनाङबाट सबैभन्दा कम ४५ र काठमाडौंबाट सबैभन्दा बढी ६८ हजार १३३ जना सहभागी छन्। बाल सुधारगृह र कारागारमा रहेका विद्यार्थीका लागि पनि परिक्षाको व्यवस्था गरिएको छ ।