काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार करिब १ करोड ८४ लाख ३८ हजार रुपैयाँको भ्रष्टाचार भएको दाबी गर्दै अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जय कुमार ठाकुर, शहरी विकास तथा भवन कार्यालय पर्साका इन्जिनियर राजेन्द्र साह र सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा शुशिलप्रसाद यादव र लेखापाल सुदिप कुमार माझी विरुद्ध मुद्दा दायर गरिएको हो।
त्यसैगरी, मूल्याङ्कन समिति संयोजक डा. विरेन्द्रबहादुर प्रधान, सदस्य–सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा र लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा पनि प्रतिवादीमा परेका छन्। लुम्बिनी मिसन जेभीलाई समेत अख्तियारले संस्थागत प्रतिवादीको रूपमा विपक्षी बनाएको छ।
अनुसार, भवन निर्माणका ठेक्कामा एम ३५ इन्टरलक ब्लक बिछ्याउने सहायक कार्यलाई मुख्य कार्यका रूपमा देखाएर बोलपत्र अस्वीकृत गरिएकाले प्रतिस्पर्धा सीमित भएको र मिलेमतोमा ठेक्का दिइएको आरोप लगाइएको छ। सार्वजनिक खरिद ऐनविपरीत उक्त टायललाई मुख्य आइटमका रूपमा समावेश गरी ठेक्का प्रक्रिया अघि बढाइएको बताइएको छ।ठाकुर, साह, अन्सारी, यादव र माझीविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।