• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

तिनकुने घटनाः सबै फर्किए, तर पत्रकार सुरेश रजक किन भाग्न सकेनन्?

तिनकुने घटनामा पत्रकार सुरेश रजकको निधन भएको महिना दिन बितिसकेको छ ।
घटना कसरी भयो भन्ने कुराका बिभिन्न अनुमानहरु लगाउनु बाहेक कसैले पनि पत्रकार रजकको मृत्यु पछाडीको ठोस कारण पत्ता लगाउन सकेका छैनन् ।

यसैविच काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शनका क्रममा पत्रकार मारिएको घटनाबारे नेपाल पत्रकार महासंघले गठन गरेको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

महासंघका उपाध्यक्ष उमिद बागचन्द नेतृत्वको समितिले घटनाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।

उक्त प्रतिवेदनमा पत्रकार सुरेश रजक किन भाग्न सकेनन् भनेर प्रश्न तेर्साएका छन् । एक महिना लगाएर सार्वजनिक गरिएको प्रतिवेदनमा “किन भाग्न सकेनन् सुरेस”? भनेर शिर्षक राखिएको छ ।
प्रतिवेदनको उक्त अंशमा सुरेस रजकले त्यसदिन के-के गरे भनेर बिस्तृत खुलाइएको छ । तर भाग्नु नसक्नु पछाडिको कारण भने छैन ।

तिनकुनेमा जलेको घरको तेस्रो तल्ला जहाँ उक्त घर जल्नुभन्दा पहिले सुवाल एण्ड एसोसियट्स् नामको “ल फर्म” रहेको थियो ।

सोहि कार्यालयमा आगलागी र तोडफोडसँगै पत्रकार सुरेश रजकको निधन भएको थियो ।

रजकको निधनपछी अहिले एक प्रश्नले सबैको मन पोलिरहेको छ— सबै फर्किए, तर सुरेश रजक किन फर्किन सकेनन्?

घटनास्थलमा यानिकी मुख्य कार्यलयको चेन गेटमा ताला लागेको हुनाले मुख्य ढोका छेउको झ्याल फुटाएर प्रदर्शनकारी तथा पत्रकारहरु सोहि फुटेको झ्यालबाट भवनभित्र प्रवेश गरेका थिए।

सोही बाटोबाट पत्रकार रजक पनि भित्र प्रवेश गरेका थिए। झ्यालभन्दा भित्रपट्टि रहेको दराज भुइँमा ढलेपछि झ्यालबाट ओर्लन सहज भएको देखिन्छ। पछी आगो दन्किसकेपछी अन्य पत्रकार तथा प्रदर्शनकारीहरू यही बाटोबाट फर्किएका थिए। तर प्रश्न उठ्छ—भित्र पसेको बाटोबाटै रजक किन फर्किन सकेनन्?

सुरेश रजकले त्यस क्षणमा पनि भाइबरमार्फत् आफ्नो अवस्था अपडेट गर्दै भनेका थिए, “म यहाँ बिल्डिङमै छु। म खतरा ठाउँमा छु। मेरो भाइबर जोड्नु। म लाइभ गर्छु।”

त्यो लाइभमै देखिन्छ—उनले प्रदर्शनकारीहरूले गरेको तोडफोडको दृश्य खिचिरहेका थिए। त्यो बेला प्रदर्शनकारीले फर्निचर र अन्य सामान सडकतिर फालिरहेका थिए, कोही राष्ट्रिय झण्डा बाँधेर, कोही अनुहारमा पट्टी लगाएर कोठाभित्र लुटपाट गरिरहेका थिए।

प्रदर्शनकारीहरूले गरेको तोडफोडको दृश्य खिचिरहेका अन्य पत्रकारहरुलाई प्रदर्शनकारीहरूले फोटो तथा भिडियो नखिच्न भन्दै हप्काएका थिए ।
उनैसँग पुगेका अन्य पत्रकारहरूले प्रदर्शनकारीहरूको धम्की पाएपछी “खिचेको छैन” भन्दै सोहि झ्याल हुँदै तल झरेर निस्किएका थिए।

उनीहरूको भनाइ अनुसार प्रदर्शनकारीहरूले “किन खिचेको?” भन्दै धम्क्याउन थालेका थिए।
यही बेला रजक अझै कोठाभित्रै थिए, भिडिओ खिच्दै, सायद सत्य सार्वजनिक गर्ने जोसमा।

घटनापछि रजकले प्रयोग गर्दै आएको क्यामेरा भेटिएन। उनका दुई मोबाइलहरुमध्ये एउटा मोबाइल पनि हालसम्म फेला पर्न सकेको छैन ।

पक्कै पनि आगोले सबै जलेको हो त? कि कसैले लिएको? जलेको भए क्यामरा र मोबाइलका अवशेसहरु फेला पर्नु पर्ने । होइन भने क्यामरा र मोबाइल कहाँ पुगे त ?

भिडियो फुटेजहरू हेर्दा प्रदर्शनकारीहरूले सुरुमा सडकमै रहेका सीसीटिभी फुटाएका थिए। यसबाट अनुमान गर्न सकिन्छ—उनीहरू आफ्नो पहिचान लुकाउने योजनामा थिए। त्यसैले त्यही बेला भिडिओ खिचिरहेका पत्रकार सुरेश रजक उनीहरूका लागि बाधक बने। कतै यही कारण उनीमाथि सांघातिक आक्रमण त भएन? यो प्रश्न अहिले हरेक नेपालीको मन मनमा छ ।

३/४ फिटको झ्यालबाट अरूले उक्लेर बाहिरिन सके, तर सुरेश किन भाग्न सकेनन्? आगो लागेको बेला सबै भागे, उनी किन अड्किए त ? के उनी बेहोस थिए ?

अथवा के उनलाई कुटेर अशक्त बनाइएको थियो त ।

यी प्रश्नहरू गम्भीर छन् र राज्यले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्छ। एक पत्रकार सधैं अगाडि रहेर सत्यको खोजी गर्छ। तर सत्यकै खोजी गर्दा उसले ज्यान गुमाउनुपर्‍यो भने, त्यो लोकतन्त्रको लज्जास्पद विडम्बना बन्न जान्छ ।

तिनकुने घटनामा पत्रकार सुरेश रजकको निधन केवल एउटा दुर्घटना थियो त? कि उनी लक्ष्यित आक्रमणको शिकार भए? सबै फर्किदा, उनी मात्र किन फर्किएनन् भन्ने प्रश्नको उत्तर आज हाम्रा कानुन र सुरक्षात्मक संयन्त्रहरूलाई खोज्नैपर्ने अवस्था आएको छ।