• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पहलगाम आतंकी हमलापछि नेपाल–भारत सीमा ‘हाई अलर्ट’ मा

काठमाडौँ।  । भारत–पाकिस्तानबीचको पछिल्लो तनावपछि नेपाल–भारत सीमानाकामा सुरक्षा सतर्कता बढाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज नाकालगायत ग्रामीण सिमा क्षेत्रहरूमा निगरानी कडा बनाएको हो।

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार जम्मु–काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच चर्किएको द्वन्द्वका कारण नेपालतर्फबाट सुरक्षा सतर्कता अपनाइएको हो। बुधबारदेखि जिल्लाका सबै प्रहरी युनिटहरूलाई ‘हाई अलर्ट’ मा राखिएको उनले जानकारी दिए।

हाल सीमाबाट नेपाल प्रवेश गर्ने सबै सर्वसाधारणमाथि कडाइका साथ सोधपुछ र कागजात जाँच भइरहेको छ। विशेषगरी तेस्रो मुलुकका नागरिकलाई कागजातबिना प्रवेश नदिइने निर्णय गरिएको छ। डग स्क्वाड (सुँघ्ने कुकुर टोली) को समेत प्रयोग गरेर निगरानी तीव्र पारिएको प्रहरीको भनाइ छ।जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सीमामा दुई तहको सुरक्षा व्यवस्था लागू गरिएको छ। पहिलो पंक्तिमा सशस्त्र प्रहरी बल खटिएको छ, जसले व्यक्तिको प्रारम्भिक जाँच र कागजात प्रमाणीकरण गर्छ।

दोस्रो पंक्तिमा नेपाल प्रहरीले थप जाँच गरी मात्र प्रवेश अनुमति दिइनेछ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयले ‘हातहतियार, लागुऔषध र अवैध गतिविधि’ नियन्त्रणका लागि सुरक्षाकर्मीलाई व्यापक रूपमा परिचालन गरिएको बताए। पाकिस्तानी र बंगलादेशी नागरिकहरूले वीरगञ्ज नाका प्रयोग गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाइएको उनको भनाइ छ।