• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

ललितपुरमा तीव्र गतिमा आएको कार बिजुलीको पोलमा ठोक्किँदा सडक अवरुद्ध, तीन जना घाइते

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारले ठक्कर दिँदा सडक छेउमा रहेको ११ हजार भोल्ट क्षमताको हाइटेन्सन बिजुलीको पोल भाँचिएर सडकको बीचमा पुगेको छ। पोल सडकमा ढलेपछि सो मार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

दुर्घटनामा बा १५ च ७६५२ नम्बरको कार संलग्न भएको ललितपुर प्रहरीले जनाएको छ। दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन्, जसलाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको छ। प्रहरी स्रोतका अनुसार सवारी चालक मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा गाडी चलाइरहेका थिए।कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाको स्वरूप हेर्दा तीव्र गतिमा सवारी साधन चलाइएको अनुमान गरिएको छ।No description available.

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख तथा पूर्व ट्राफिक प्रहरी अधिकृत सिताराम हाछेथुले भने, “गाडीले पोल ठोक्किएर बांगिएको धेरै पटक देखेको छु, तर यो घटनामा जस्तो गरी पोल सडक किनारबाट उखेलेर बीच सडकमा पुगेको भने पहिलो पटक देखिएको हो।”नेपाल विद्युत् प्राधिकरणका प्राविधिक, महानगर प्रहरी तथा अन्य निकायको सहयोगमा पोल हटाउने प्रयास जारी छ। बिजुलीको तार उच्च भोल्टेजको भएकाले विशेष सावधानीका साथ काम भइरहेको जनाइएको छ।