• २०८३ असार ८
  • 2026 June 22, Monday

संयोजक सुवेदी सक्रिय बन्दै, जनआन्दोलन समितिको बैठक आज-नयाँ संघर्ष योजना सार्वजनिक हुने

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै गठित संयुक्त जनआन्दोलन समिति चाँडै सडक आन्दोलनमा उत्रिने तयारीमा लागेको छ। समितिका संयोजक नवराज सुवेदीको आह्वानमा आज काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे बैठक बस्दैछ।

बैठकमा आन्दोलनको नयाँ कार्यतालिका तय गरिने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन्। उनका अनुसार केही समयदेखि निष्क्रिय जस्तो देखिएको राजावादी आन्दोलन अब पुनः सक्रिय रूपमा अघि बढ्नेछ।’अब आन्दोलनमा ढिलाइ हुँदैन। सत्ता पक्षलाई निर्णायक सन्देश दिने गरी आजैबाट नयाँ आन्दोलनको घोषणा गरिनेछ,’ नेपालले भने।

यसअघि संयोजक सुवेदी अघोषित नजरबन्दमा परेका थिए भने सदस्य सचिव डा. रवीन्द्र मिश्र प्रहरी हिरासतमा छन्। मिश्रलाई हिजो छैटौं पटक म्याद थप गरिएको छ। उनीसँगै पक्राउ परेका जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा भने हाजिरी जमानीमा रिहा भइसकेका छन्।संयोजक सुवेदी गत साता नजरबन्दमुक्त भइ पुनः सक्रिय भएका छन्। आजको बैठकमा कार्यवाहक संयोजक डा. जगमान गुरुङको पनि उपस्थिति रहनेछ।