काठमाडौं । भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसबारे छानबिनको माग गरेका थिए। त्यसपछि सभामुख घिमिरेले उक्त घटना राष्ट्रका लागि संवेदनशील विषय भएको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई रुलिङ जारी गरे।
सभामुखले घटनासम्बन्धी छानबिन अघि बढाउन, पीडित परिवारसँग संवाद स्थापना गर्न तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएका छन्।उक्त विश्वविद्यालयमा यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि रहस्यमय मृत्यु भएको थियो। त्यसपछि प्रिसा साहको मृत्युले थप प्रश्न उठाइरहेको छ।