काठमाडौं। सुनसरीमा दैनिक रूपमा गाजा तस्करीका घटनामा वृद्धि भइरहेको छ। प्रहरीद्वारा यातायातका साधनमार्फत भइरहेको तस्करीमा कडाइ गरिएपछि तस्करहरूले नियन्त्रणबाट बच्न तस्करीको तरिका नै परिवर्तन गर्न थालेका छन्।
प्रहरीले आइतबार राती धरान-१७ स्थित चारकोशे जङ्गलबाट ११ भारी गाजा बरामद गरेको छ । धनकुटाबाट ११ जनाले नाम्लो लगाएर गाजा धरानतर्फ ल्याउँदै गरेको सूचना पाएको प्रहरीले उनीहरूलाई पिछा गरिरहेको थियो। तस्करहरू प्रहरीलाई देखेपछि गाजा छोडेर जङ्गलतर्फ भागेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातिको समय र घना जङ्गल क्षेत्र भएका कारण तस्करहरूलाई पक्राउ गर्न नसकिएको बताए । प्रहरीले प्लाष्टिकमा प्याक गरेको ११ भारी अर्थात् ३३० केजी गाजा बरामद गरेको छ । डीएसपी खतिवडाले फरार रहेका गाजा तस्करीहरूको खोजीकार्य भइरहेको बताएका छन्।