काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले वर्तमान सरकार जनताको लागि होइन, बिचौलिया, भ्रष्टाचारी र तस्करहरूको हितका लागि काम गरिरहेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरू अहिले भने आरामसँग निदाइरहेका छन् भन्ने टिप्पणी गरे। उनले सरकार जनताको हितमा होइन, बिचौलियाको पक्षमा नीति निर्माणमा लागेको स्पष्ट सङ्केत गरेका छन्।उनले भने, ‘हामीले भनेका थियौँ,यो सरकार जनताको लागि बनेको सरकार होइन । यो सरकार गलत नियतका साथ बनेको सरकार चाहिँ हो ।
सरकार बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको सरकार चाहिँ हो । सरकारले उनीहरूकै हित गर्छ । आज यो कुरा व्यवहारतः पुष्टि भएको छ सभामुख महोदय । हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरू आज खुसीका साथ निदाइरहेका छन् ।’सरकार सञ्चालकहरू नै देशलाई सङ्कटको भूमरीतिर लैजाने कुचेष्टा गरिरहेको समेत सांसद शाहीको आरोप छ ।