• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

चक्रपथ दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ, सर्भे र डिजाइनमै लाग्ने भयो ६ महिना

चक्रपथ विस्तारको दोस्रो खण्ड (कलंकी–चाबहिल) निर्माणमा ढिलाइ हुने देखिएको छ। हाल चिनियाँ प्राविधिक टोलीले उक्त खण्डको सर्भे गरिरहेको छ। चक्रपथ विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार सर्भेमा दुई महिना लाग्ने र त्यसपछि मात्र डिजाइनको काम सुरु हुने छ। चिनियाँ पक्षले सर्भे र डिजाइन प्रक्रिया ६ महिनाभित्र सक्ने योजना बनाएको छ। त्यसपछि निर्माण कम्पनी छनोट गरी काम अघि बढाइने तयारी रहेको छ ।

हाल फिल्डमा चिनियाँ कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका १८ जना प्राविधिक खटिएका छन्।

महाराजगञ्ज क्षेत्रमा जग्गा प्राप्तिमा समस्या देखिएकाले विस्तारको दायरा वसुन्धरा पुलसम्म मात्र सीमित गरिएको छ। यो खण्ड ८.२ किलोमिटर लामो छ। नेपाल सरकारको तर्फबाट भने सर्भिस लेनको निर्माण भइसकेको छ।

यो खण्डको विस्तार कार्य सात वर्षअघि सुरु हुनुपर्ने भए पनि हालसम्म कार्यान्वयनमा नआउँदा स्थानीयवासीले धुलो, हिलो र ट्राफिक जामका कारण ठूलो सास्ती भोग्दै आएका छन्। स्वास्थ्य समस्या र दुर्घटनाका घटनामा वृद्धि भएको छ भने सडक किनाराका व्यवसायहरूमा समेत असर परेको छ।

२०७५ सालमा चीनसँग सम्झौता भएको भए पनि कोभिड–१९ को प्रभावका कारण काम अघि बढ्न सकेन। त्यसपछि २०७९ फागुनमा चिनियाँ कम्पनीले डीपीआर बनाउन प्राविधिक टोली पठाए पनि रिपोर्ट नआएको जानकारी छ।

२०८१ भदौमा नेपाल–चीनबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो भने मंसिरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा संयुक्त वक्तव्यमार्फत चक्रपथ दोस्रो चरणको कार्यान्वयन सहमत गरिएको थियो। हालको सर्भे कार्य सोही सहमतिअनुसार गरिएको हो।

यसअघि चीनले कोटेश्वर–कलंकी खण्ड विस्तार गरी २०७५ मा सकाएको थियो, जसको दूरी १०.३९ किलोमिटर र लागत करिब ५ अर्ब रुपैयाँ थियो। उक्त सडक आठ लेनको बनाइएको थियो।

तेस्रो खण्डमा पनि विस्तार कार्य सुरु गरिएको छ। नारायणगोपाल चोक नजिकको प्रहरी चौकीदेखि चप्पल कारखानासम्मको ७०० मिटर सडक विस्तारका लागि २२ करोड लागतमा ठेक्का सम्झौता भइसकेको छ। यो सडक १० मिटर चौडाइमा चाइनियाँ मोडालिटीअनुसार निर्माण भइरहेको छ।

सडक डिभिजन काठमाडौँका अनुसार महाराजगञ्जदेखि कोटेश्वरसम्मका केही ठाउँमा जग्गा क्लियर नभएकाले सबै क्षेत्रमा एकसाथ ठेक्का दिन नसकिएको हो। विशेष गरी गौशाला र एयरपोर्ट क्षेत्रका जग्गा तथा संरचनाले समस्या बनाएका छन्। सिनामंगल क्षेत्रतिर भने टेन्डर प्रक्रिया अगाडि बढ्ने तयारीमा छ।

इन्जिनियर अर्जुन नेपालीका अनुसार प्रहरी चौकीदेखि चप्पल कारखानासम्मको सडकमा ३ मिटर स्पानको एउटा कल्भर्ट पनि निर्माण भइरहेको छ, जुन लगभग पूरा भइसकेको छ।