स्वतन्त्र सांसद अमरेश कुमार सिंहले हालै नेपाल आएका पाकिस्तानी सेनाको ११ सदस्यीय प्रतिनिधिमण्डलप्रति प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले पाकिस्तानी सेनाको टोली मे ४ तारिखमा नेपाल आएको जानकारी दिएका छन्।
उक्त टोली कतार एयरवेजको उडान नम्बर ६४६ मार्फत नेपाल आएको र त्यसको नेतृत्व ऐयर क्याडर सराज मन्सुर अन्सारीले गरिरहेको संसदमा उनले बताएका हुन्।
सांसद सिंहले भारत–पाकिस्तानबीच पहलगाम घटनापछि उत्पन्न तनावको सन्दर्भमा नेपालले यस्तो संवेदनशील समयमा पाकिस्तानी सैन्य टोली बोलाउनु उपयुक्त नभएको टिप्पणी गरेका छन्।
उनले नेपालको परराष्ट्र नीति असन्तुलित बन्दै गएको भन्दै त्यसले देश र जनतालाई अन्योलमा पार्न सक्ने चेतावनी पनि दिए।
‘सरकारले यस्तो निर्णयमार्फत के सन्देश दिन खोजेको हो? के नेपालले कसैको पक्ष लिन मिल्छ?’ भन्दै संसदमा उनले प्रश्न उठाएका छन्। साथै, पाकिस्तानको प्रतिनिधिमण्डल आउने समय नै अनुपयुक्त भएको उनको टिप्पणी थियो।