जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदहरूले पूर्वसांसद रेशम चौधरीको पक्राउको विषय उठाउँदै मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
बैठक सुरु हुनासाथ जनमत र नाउपाका सांसदहरू उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले नाउपा अध्यक्ष र सांसद रञ्जिता श्रेष्ठलाई बोल्ने समय दिए। श्रेष्ठले वैशाख १७ गते रेशम चौधरीलाई प्रशासनिक मनोमानीका आधारमा पक्राउ गरिएको भन्दै घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरिन्।
‘सरकारप्रति विश्वास गर्दै आग्रह गर्छु — यो विषयमा निष्पक्ष अनुसन्धान होस् र रेशम चौधरीमाथि भएको व्यवहारको सार्वजनिक स्पष्टीकरण दिइयोस्,’ उनले भनिन्।
बादमा आकस्मिक तथा शून्य समयमा अन्य सांसदहरूले पनि विविध विषयमा धारणा राखे। तर, जब सभामुख घिमिरे नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने तयारीमा थिए, जनमत र नाउपाका सांसदहरूले पुनः अवरोध गरे।
सभामुखले उठाइएका विषयमा सरकारलाई जानकारी गराएको र जवाफ आउने आश्वासन दिए तापनि सांसदहरू शान्त भएनन्। पछि सभामुख घिमिरेले वैशाख २५ गते गृहमन्त्री रमेश लेखकले सदनमा जवाफ दिने बताएपछि मात्र उनीहरू बसे र बैठक अगाडि बढ्न सक्यो।
यसअघि वैशाख १७ गते सर्वोच्च अदालतको कर्मचारी महिमानसिंह विष्टको एक अनधिकृत पत्रको आधारमा रेशम चौधरी पक्राउ परेका थिए। उनी करिब पाँच घन्टा डिल्लीबजार कारागारमा राखिएपछि रिहा गरिएको थियो।
नाउपाका सांसद लालवीर चौधरीले सोमबारको बैठकमा बोल्दै सर्वोच्चले स्वयं उक्त पत्रलाई अनधिकृत भनेको र त्यसकै आधारमा चौधरीलाई पक्राउ गरिएकोमा सरकारको जवाफ माग गरेका थिए।
हाल प्रहरीले अदालतबाट अनुमति लिएर विष्टविरुद्ध अनुसन्धान गरिरहेको छ।