• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

एमाले धनुषा जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप, रोकियो मतदान

नेकपा एमालेको धनुषा जिल्ला अधिवेशनमा उम्मेदवार चयनलाई लिएर विवाद उत्पन्न हुँदा दुई समूहबीच हात हालाहाल भएको छ।

कुनै उम्मेदवारको वैधानिकतामाथि उठेको प्रश्न र त्यसबारे उजुरी दिइए पनि उम्मेदवारी खारेज नगरिएको भन्दै विवाद चर्किएको हो। झडपका क्रममा कुर्सीसमेत तोडफोड भएको छ भने उत्पन्न अवस्थाका कारण अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया हाल स्थगित गरिएको छ।

अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले विधानविपरीत उम्मेदवारी परे पनि निर्वाचन समितिले समयमै कारबाही नगरेको आरोप लगाए। उनका अनुसार उपसचिव पदका उम्मेदवार रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्ष पदका उम्मेदवार वीरेन्द्रलाल कर्णको उम्मेदवारी पनि अप्रामाणिक रहेको छ।

यादव नेतृत्वको समूह अहिले निष्पक्ष निर्वाचनको माग राख्दै अधिवेशनस्थलभित्रै धर्नामा बसेको छ।

अधिवेशनमा एमाले सचिव रघुवीर महासेठको समूह र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया तथा संजीव झा ‘सुरज’को समूहबीच प्रतिस्पर्धा देखिएको छ। दुवै पक्षले आ–आफ्ना प्यानल बनाएर उम्मेदवारी दिएका छन्।

मण्डल समूहले महासेठ समूहलाई निर्वाचनमा धाँधली गराउन खोजेको आरोप लगाएको छ। महासेठ समूहबाट अध्यक्ष पदका लागि भोला यादवको नाम अगाडि सारिएको छ।

मतदानको समय तालिका बिहान ८ बजे तोकिएको थियो तर तयारी नपुगेको भन्दै १० बजेसम्म सारिएको थियो। अहिले झगडाका कारण मतदान कहिले सुरु हुने भन्ने अन्योल कायम छ।