• २०८३ असार ८
  • 2026 June 22, Monday

छोरी-ज्वाइँसँग समय बिताइरहेका अध्यक्ष प्रचण्ड रिसोर्टमा चिप्लिएर लडेको खुलासा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवासमा नभई एक रिसोर्टको शौचालयमा लडेर घाइते भएको खुलेको छ।

मंगलबार साँझ छोरी, ज्वाइँ र केही नजिकका आफन्तहरूसँग काठमाडौं नजिकैको लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्ट पुगेका प्रचण्ड त्यहीँको शौचालयमा चिप्लिएर लडेका हुन्। घटनामा उनको निधारको बाहिरी भागमा सामान्य चोट लागेको जनाइएको छ।

छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत बुबाको स्वास्थ्यस्थितिबारे जानकारी दिँदै, बाथरूममा चिप्लिएर सामान्य चोट लागेको र चेकजाँचपछि उनी घर फर्किएको बताएकी थिइन्। तर उनले घटनास्थलबारे खुलाएकी थिइनन्।

गंगा दाहालले लेखेकी छन्, “गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।”

घटना खुमलटारस्थित निजी निवासमा भएको ठानिए पनि पछि रिसोर्टमा भएको पुष्टि भएको हो।