काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, पर्वतको विस्तारित भेलामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ। जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाका क्रममा उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि एमाले प्रदेश कमिटी सदस्य तथा युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहित केही नेताहरू घाइते भएका छन्।
झडपमा गम्भीर घाइते भएका पौडेलको टाउकोमा चोट लागेको जनाइएको छ। एक पक्षले पार्टी पदाधिकारीमाथि हातपात गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको दाबी अर्को पक्षले गरेको छ। युवा संघका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली अधिवेशन नगर्ने पक्षमा थिए, तर एमाले पर्वतको सक्रियतामा बुलाईएको भेलामा विवाद चुलिँदा झडप भएको हो।
एमाले पर्वतका अध्यक्ष गोविन्द गिरीले झडपप्रति खेद व्यक्त गर्दै घटना ‘असमझदारीको परिणाम’ भएको बताए। उनका अनुसार, कार्यक्रम सञ्चालनका क्रममा केही मतभेदले स्थिति विग्रिएको हो।युवा संघका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पर्वत भण्डारीले भने उक्त कार्यक्रम अधिवेशन नभई मात्र विस्तारित भेला भएको प्रष्ट पारे।
उनले भने, “अधिवेशन होइन, विस्तारित भेला हो। केही साथीहरूबीच सामान्य असमझदारी देखिएको हो। आयोजक समिति निर्माण गर्न भेला बोलाइएको मात्र हो।”उनका अनुसार, चैत १५ भित्र अधिवेशन गर्न नसकेका शाखाहरूमा जिल्ला अध्यक्ष स्वतः संयोजक बनाउने र अधिवेशन गराउने निर्णय केन्द्रबाट भइसकेको छ।