• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रुपन्देहीमा विद्यार्थी बोकेको एक निजी विद्यालयको बसमा आगलागी

रुपन्देहीमा विद्यार्थी बोकेको एक निजी विद्यालयको बसमा आगलागी भएको छ।

शुद्धोधन गाउँपालिका-४ फर्साटिकरमा सञ्चालनमा रहेको लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा अचानक आगो लागेको हो। बसमा करिब ४० जना विद्यार्थी सवार थिए। आगलागी सुरु भएलगत्तै चालक र सहचालकले तिनलाई तुरुन्त बसबाट बाहिर निकालेर ठूलो दुर्घटना हुनबाट जोगाएको जानकारी रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले दिएका छन्।

उनका अनुसार बस घर–घरबाट विद्यार्थी उठाएर विद्यालय पुग्न लाग्दा अचानक धुवाँसहित आगो लागेको थियो। चालक, सहचालक र स्थानीयको सहयोगमा सबै विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ।

यद्यपि, लु १ क १३२६ नम्बरको सो बस भने पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याइएको थियो।

डीएसपी कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानले बसको यान्त्रिक गडबडीका कारण आगलागी भएको देखिएको छ।