• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनासम्म आन्दोलन जारी रहने: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनासम्म राष्ट्रवादी आन्दोलन जारी रहने बताएका छन्।

राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राष्ट्रवादी अभियानलाई सफलतापूर्वक अगाडि बढाउने जिम्मेवारी थपिएको बताएका हुन्।

थापाले भने, “हिन्दु राष्ट्रको एजेण्डा पुरा नभएसम्म हामी आन्दोलनमा संलग्न रहने छौँ। अब हाम्रो एकतालाई कुनै पनि तत्वले तोड्न सक्दैन।”

उनले राष्ट्रवादी शक्तिहरू एकजुट भएर देशलाई भ्रष्टाचार र कुशासनबाट मुक्त गराउने प्रतिबद्धता जनाउँदै हिन्दु राष्ट्रको पुनःस्थापना र आर्थिक सुशासनको दाबी पनि गरे। सो कार्यक्रममा राजावादी समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।