• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारत–पाक तनावपछि नेपाल–भारत सीमामा सशस्त्र प्रहरीको चेकिङ कडा, १० हजारभन्दा बढी जनशक्ति परिचालन

भारत र पाकिस्तानबीचको बढ्दो तनावलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

सशस्त्र प्रहरी बलका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पछिल्लो ४८ घण्टामा १,८४४ स्थानमा चेकप्वाइन्टहरू स्थापना गरिएको छ भने ३१२ पटक गस्ती गरिएको छ। सामान्य अवस्थामा यति धेरै चेकप्वाइन्ट राखिँदैन, तर वर्तमान परिस्थितिलाई ध्यानमा राखेर गस्ती र चेकिङ कार्य तीव्र पारिएको उनले बताएका छन्।

मंगलबारदेखि बिहीबार बिहानसम्मको अवधिमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा ८४ संयुक्त गस्ती र २२८ एकल गस्ती सञ्चालन गरिएको छ। संयुक्त गस्ती मंगलबार २०, बुधबार १६, र बिहीबार ४८ पटक गरिएको थियो। त्यस्तै, एकल गस्ती मंगलबार ८९, बुधबार ६४ र बिहीबार ७५ पटक गरिएको हो।

सीमामा सुरक्षालाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बलका विभिन्न बाहिनी मुख्यालयहरूमार्फत १० हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। सुनसरी, महोत्तरी, मकवानपुर, कास्की, रुपन्देही र कैलालीका मुख्यालयअन्तर्गत यो परिचालन गरिएको हो।

डिएसपी थापाका अनुसार, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरेर अवैध गतिविधि रोक्न र सीमाबाट हुने आवतजावतको निगरानी कडाइका साथ भइरहेको छ।

यद्यपि, नेपाल–भारतबीचको परम्परागत खुला सीमाबाट हुने आवतजावतलाई सहज राख्न सशस्त्र प्रहरी बल सचेत रहेको र त्यसप्रकारको आवतजावतलाई अवरोध नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए। साथै, सहरी क्षेत्रका संवेदनशील स्थानहरूमा पनि सुरक्षा सतर्कता बढाइएको छ।