
गृहमन्त्री रमेश लेखकले चैत १५ गते तीनकुनेमा भएको घटनाबारे हाल अनुसन्धान जारी रहेको जानकारी प्रतिनिधिसभालाई दिएका छन्।
सांसदहरूका जिज्ञासाको जवाफ दिंदै उनले उक्त घटनालाई सरकारद्वारा पूर्वाग्रहका आधारमा नहेरेको स्पष्ट पारेका छन्। उनले घटनालाई संविधान र व्यवस्थाविरोधी तथा विध्वंसात्मक भएको उल्लेख गर्दै, यस्ता अराजक क्रियाकलापलाई कानुनी दायरामा ल्याइ नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अन्तर्गत पाउने अधिकारको स्वतन्त्र प्रयोगको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
राजावादी समूहहरूलाई लक्षित गर्दै गृहमन्त्री लेखकले संविधानले निषेध गरेका गतिविधि नगर्न चेतावनी दिए र यस्ता कार्यहरू सरकारबाट सह्य नहुने स्पष्ट पारे। यता राजावादीहरूले भने जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन ।