• २०८३ असार ८
  • 2026 June 22, Monday

‘राजा खोज्दै हिँड्नु समय बर्बाद गर्ने काम हो’ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजसंस्थाको पुनःस्थापनाका लागि भइरहेको प्रयासलाई समयको बर्बादी मात्रै भएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले वर्तमान संविधान र व्यवस्थालाई परिवर्तन गर्न आन्दोलन गर्नुको सट्टा आगामी चुनावमा जनमत प्राप्त गरेर अघि बढ्न सुझाव दिए।”अब तासको बुकका राजारानी खोज्दै जिन्दगी चलाउने हो र?” भन्दै उनले प्रश्न गरे, “राजा आउने छैनन्, त्यसतर्फ लाग्नु समयको बर्बादी हो।”

संविधान संशोधनको तयारीमा सरकार आफैं रहेको बेला आन्दोलन गर्नु अनावश्यक भएको तर्क गर्दै बास्कोटाले भने, “संविधान संशोधन सरकार गर्नै लागिरहेको छ भने आन्दोलन किन? चुनावमा जानुस्, बहुमत ल्याउनुस्, तब फेरि व्यवस्था बदल्न सक्नुहुन्छ।”त्यसक्रममा उनले मन्त्रिपदमा रहेका केही व्यक्तिहरूलाई लक्षित गर्दै राजनीतिक स्थायित्वको अभावप्रति टिप्पणीसमेत गरे। “अहिले मन्त्री भएकाहरू फेरि सांसद्को लहरमा बस्न आउनुपर्ने त होइन?” भन्दै उनले कटाक्ष गरे।