• २०८३ असार ८
  • 2026 June 22, Monday

साउदी अरेबियामा अलपत्र नेपालीको उद्धारका लागि सांसद शाहीको सरकारलाई ध्यानाकर्षण

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले साउदी अरेबियामा अलपत्र परेका नेपाली कामदारको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा गएका नेपालीहरू बन्धक अवस्थामा रहँदा समेत श्रम तथा परराष्ट्र मन्त्रालय मौन बसेको भन्दै गम्भीर आपत्ति जनाए।

“हामी नेपाली नपुगेको कुनै देशको सहर छैन, झण्डै ८० लाख युवा विदेशमा छन्। उनीहरू बन्धक हुँदा पनि मन्त्रालय मौन छ,” शाहीले भने, “श्रम मन्त्रालयले यस्ता गम्भीर घटनामा कुनै जिम्मेवारी लिएको छैन।”विदेशी भूमिमा भएका युद्धहरूमा नेपालीहरूले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले थपे, “भारत–पाकिस्तान, रुस–युक्रेन, प्यालेस्टाइन–इजराइल – सबै ठाउँमा नेपाली नै मरे, तर सरकार अझै मौन छ। यो गरिबी र बेरोजगारीको चरम नमुना हो।”

सांसद शाहीले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सकै भरमा सरकार र राज्यसंयन्त्र चलेको भन्दै गुनासो पोखे। “आज सांसददेखि कर्मचारीसम्मको तलव विदेशमा बसेकाले पठाएको पैसाबाट चलिरहेको छ। यस्तो अवस्थामा नुनको सोझो गर्नुपर्ने होइन र?” उनले प्रश्न गरे। उनले श्रम र परराष्ट्र मन्त्रालयहरूलाई निष्क्रिय रहेको आरोप लगाउँदै भने, “यदि यी मन्त्रालयले काम गर्न सक्दैनन् भने त यिनको अस्तित्वको औचित्य के रह्यो?”