काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति परोक्ष रूपमा टिप्पणी गर्दै, ऐनामा आफ्नै अनुहार हेरेर अरूलाई गाली गर्ने प्रवृत्ति देखिएको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले गालीगलौजको शैलीमा टिप्पणी गरेको गुनासो गरे।
“विपक्षी दलका माननीयज्यूहरूले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोल्नु भयो,” ओलीले भने, “ऐना अगाडि राखेर आफ्नै अनुहार हेरेर अरूलाई गाली गर्ने प्रवृत्ति देखिन्छ। म त्यसमा गहिरो प्रतिक्रिया जनाउन चाहन्न, तर त्यसो नगरे हुन्थ्यो भन्ने आग्रह मात्रै हो।”प्रधानमन्त्री ओलीले संसदको गरिमा जोगाउन आग्रह गर्दै संसद्लाई कुण्ठा र आक्रोश पोख्ने थलो नबनाउन विपक्षीलाई चेतावनी दिए।
“जनताको आशा र भरोसाको केन्द्र संसद हो,” उनले भने, “त्यस अनुरूप व्यवहार हुनुपर्छ। संसदलाई सामाजिक सञ्जालको स्तरमा झार्ने प्रयास उपयुक्त होइन।”उनले केही नेताहरू अधिनायकवादी शासनकालमा कानुनको दुहाइ दिँदै माइक फुट्ने गरी कराउने तर अहिले लोकतान्त्रिक प्रणालीमा उभिएर लोकतन्त्र उल्ट्याउने संकेत गर्दै हिँडेको आरोप पनि लगाए।
राजतन्त्रको पुनर्स्थापनाको चर्चा गर्नेहरूप्रति कटाक्ष गर्दै ओलीले भने, “अब आउने कुनै पनि जेठ १५ गते पर्खनुहोस्, त्यो सपना पूरा हुँदैन। बंगलादेश बनाउने कुरा हुन्छ, तर त्यहाँ पनि राजा फर्किएन। श्रीलंकामा पनि फर्किएको छैन।”प्रधानमन्त्री ओलीले देश संविधान र कानुनअनुसार चल्ने उल्लेख गर्दै सबैलाई त्यसअनुसार चल्न तयार हुन आग्रह गरे।