
काठमाडौँ । काभ्रेको पनौतीमा आएको बाढीमा बगेर बेपत्ता भएकी महिलाको अवस्थाबारे अझै केही थाहा भएको छैन।
सोमबार अपराह्न पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी कुलो पार गर्ने क्रममा आएको बाढीले बगाएपछि बेपत्ता भएकी हुन्। खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र स्थानीयवासी सक्रिय रूपमा खटिएका छन्।
घटनापछि बगेर जाने सम्भावित क्षेत्र सिन्धुलीसम्म समन्वय गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी नवराज शाहले जानकारी दिए।यसैबीच, अविरल वर्षासँगै आएको बाढीले काभ्रेको रोशी गाउँपालिका–९ माम्तीस्थित बीपी राजमार्गमा रहेका ह्युमपाइपहरू बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
सडक विभागका चारवटा एक्स्काभेटर परिचालन गरिएको छ।२०८१ साल असोजमा आएको बाढीले पक्की संरचना बगाएपछि वैकल्पिक रूपमा ह्युमपाइपमार्फत सवारी आवागमन सञ्चालन गरिएको थियो। तर, सोमबारको बाढीले उक्त अस्थायी संरचना समेत बगाएपछि यातायात ठप्प भएको हो।