विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।
एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले सरकारले शुसासन मार्फत जनतामा आशा जगाएकाे बताएका हुन् ।
सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको उल्लेख गर्दै उनले सरकारले छिट्टै नै शिक्षक सेवा ऐन, निजामती सेवा ऐन पारित गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले सरकारले सुशासन मार्फत जनतामा आशा जगाएको जिकिर गर्दै सरकार स्थायित्वको सन्देश पनि जनतामा दिएको पनि बताए ।
यसैगरी, गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिए ।
गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले सङ्घीयताको अभ्यासमा मद्दत पुगेको पनि बताए । उनले यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपतकाे समयमा यसमा भण्डारणका रुपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले सरकारबाट प्रदेश सरकारले क्रमशः अधिकार प्राप्त गरिरहेको तथा प्रदेश सरकारले यातायातका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको जानकारी दिए । उनले प्रदेश सरकारलाई सङ्घीय मातहतमा रहेका सुरक्षाकर्मीबाट सहयोग प्राप्त भइरहेको बताए । कोशी प्रदेश सरकारले संविधान र कानुनबाहिर गएर कुनै पनि काम नगर्ने बताए । विपद्का क्षेत्रमा प्रदेश सरकारले उल्लेख्य काम गरेको स्मरण गराउँदै उनले जनतालाई सुरक्षित बनाउने अनुभूतिका साथ काम गरिरहेको स्पष्ट पारे ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तत्काल विपद्लाई सामना गर्न गृहमन्त्रालयबाट प्राप्त भएको सामग्रीबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्टले आफ्नो धारणा राखेका थिए ।