• २०८३ असार ८
  • 2026 June 22, Monday

गृहमन्त्री लेखकको निर्देशन : अपराधी जोकोही भए पनि कारबाही हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताएका छन्। गृह मन्त्रालय र कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विराटनगरमा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका लागि प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने विषयमा कसैसँग सम्झौता नहुने उल्लेख गर्दै, अपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न सुरक्षानिकायलाई निर्देशन दिए। उनले राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीको काममा ढिलाइ गर्न नपाउने चेतावनीसमेत दिए।

सीमावर्ती क्षेत्रमा हुने चोरी–निकासी नियन्त्रणका लागि ३० दिनभित्र परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै उनले लागुऔषध कारोबार, आत्महत्या, साइबर अपराध र सवारी दुर्घटना नियन्त्रणमा सुशासन आवश्यक रहेको बताए।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकाससँगै बढेका चुनौती सामना गर्न सुरक्षानिकाय सजग हुनुपर्ने बताए। उनले पहिचान र जातीयताका आधारमा उत्पन्न हुने समस्यालाई लोकतान्त्रिक मूल्यमा आधारित समाधान खोज्नुपर्ने धारणा राखे।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुला सीमाका कारण हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षानिकाय र राष्ट्रसेवक कर्मचारीको समन्वय अपरिहार्य भएको बताए।गोष्ठीमा गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षता, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू र विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले सीमामा हुने अवैध गतिविधि नियन्त्रण, राजस्व वृद्धि, प्रविधिसँग जोडिएका सुरक्षा चुनौती समाधानलगायत विषयमा प्रतिवद्धता व्यक्त गरे।