• २०८३ असार ८
  • 2026 June 22, Monday

मिश्रलाई थुनामा राख्ने कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण पेस गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

बुधबार मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले गृह मन्त्रालयका नाममा थुनाको कारण पेस गर्न आदेश दिएको हो।

मिश्रलाई तीनकुने घटनासँग सम्बन्धित अभियोगमा चैत १५ गते पक्राउ गरिएको थियो र उनी हालसम्म ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। सोही घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल भने हाजिर जमानीमा रिहा भइसकेका छन्।

मंगलबार मात्र काठमाडौं जिल्ला अदालतले मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। यद्यपि सर्वोच्च अदालतले अब सरकारले थुनामा राख्नुको स्पष्ट कारण पेश गर्नुपर्ने आदेश दिएको हो।