काठमाडौं। नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले तत्कालीन ओली सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको प्रतिवेदनमा देखिएको बेरुजुले देशको अर्थतन्त्र र सरकारको कामकाजप्रति गम्भीर आशंका उत्पन्न गरेको बताएका हुन्।
“हिजो बुझाइएको प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो सरकारको कार्यशैली र आर्थिक अनुशासनप्रति प्रश्न उठाएको छ,” गैरेले भने। उनले राज्यका निकाय र तिनसँग सम्बन्धित व्यक्तिहरू आर्थिक अनुशासनमा चुक्दा यस्तो अवस्था आएको उल्लेख गरे। “बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौं?” भन्दै गैरेले चिन्ता व्यक्त गरे।