• २०८३ असार ८
  • 2026 June 22, Monday

सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकमा सात दलका नेताहरूको सहभागिता

काठमाडौं। आज सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक हुनेछ।

चैत २१ गते घोषणा गरिएको मोर्चाको यो पहिलो औपचारिक बैठक लोसपा नेपालको कार्यालयमा बस्नेछ, जसको जानकारी जनता समाजवादी पार्टी नेपालका महासचिव र मोर्चाका सचिवालय सदस्य रामकुमार शर्माले दिएका छन्।

बैठकमा मोर्चामा सहभागी सात दलका अध्यक्षसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहने छ। बैठकमा आगामी कार्यदिशा र कार्यक्रमहरूको तय गरिने महासचिव शर्माले जानकारी दिए।

वैशाख २४ गते बसेको मोर्चाको अनौपचारिक बैठकले चार बुँदे निर्णय गरेको थियो। बैठकले भारत र पाकिस्तान बीच बढिरहेको तनावको बीचमा भारतको आतंकवादविरुद्धको कदममा समर्थन जनाएको थियो। यसका साथै, मोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न घटनाको निन्दा गर्दै संलग्न व्यक्तिहरूसँग कडाकड कारबाही गर्न माग गरेको थियो।

मधेस जनविद्रोह, जनआन्दोलन, किराँत लिम्बुवान आन्दोलन लगायतका आन्दोलनमा मुद्दा लगाइ जेलमा राखिएका राजबन्दीहरूलाई बिनाशर्त रिहा गर्न र झुटा मुद्दामा पक्राउ गरिएका व्यक्तिहरूको मुद्दा खारेज गर्न पनि मोर्चाले माग गरेको छ।साथै, सरकारसँग गरिएका सम्झौताहरूलाई तत्काल कार्यान्वयन गर्न पनि मोर्चाले दबाब दिएको छ।

सङ्घीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल, महन्थ ठाकुरको नेतृत्वमा रहेको लोसपा नेपाल, डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी, राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठीको नेतृत्वमा रहेको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लालको नेतृत्वमा रहेको तमलोपा समावेश छन्।