काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सत्ता र शक्तिको प्रयोग राजनीतिक प्रतिशोधको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रूप भएको टिप्पणी गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको दोहोर्याउँदै यस्तो प्रवृत्तिलाई इतिहासले धिक्कार्ने दाबी गरिन्। “सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ भने त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो,” सांसद गौतमले भनिन्, “इतिहासले यो स्वेच्छाचारी प्रवृत्तिलाई धिक्कार्नेछ।”
उनले गणतान्त्रिक लोकतन्त्रमा विधिको शासन कमजोर बनाइएको उल्लेख गर्दै सरकारले चालेको कदम सच्याउन आग्रह गरिन्। “सर्वपक्षीय आलोचना हुँदाहुँदै पनि सरकार ‘गाडी नम्बर ४२०’ जस्तै बेपरवाह गतिमा दौडिरहेको छ,” भन्दै उनले सरकारसँग रचनात्मक आलोचना सुन्ने धैर्यता अझ बाँकी छ भने आफ्नो कदम फिर्ता लिन अनुरोध गरिन्।
सांसद गौतमले पछिल्लो समय देखिएको सहकारी प्रकरणप्रति पनि ध्यानाकर्षण गराउँदै केही उजुरीकर्ताले आफैंले जाहेरी नदिएको वा किटानी उजुरी नहालेको भए पनि अभियोग पत्रमा नाम जोडिएको गुनासो सार्वजनिक रूपमा आएकाे बताइन्। उनले शक्तिको दुरुपयोग संविधान विपरीतको कार्य भएको उल्लेख गर्दै सत्ता र शक्तिलाई राजनीतिक प्रतिशोधको माध्यम नबनाउन सरकारलाई चेतावनी दिइन्।