
काठमाडौँ। सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाको सर्वोच्च शिखरको सफल आरोहण गरेका छन्।
जेठ ४ गते बिहान ९ः२० बजे उनले ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल भएका हुन्। सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले यसबारे जानकारी दिएका छन्।
सहायक निरीक्षक छत्यालले यसअघि बैशाख २२ गते ६,११४ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेका थिए। उनले सशस्त्र प्रहरी बल नेपाल र यसको कार्यक्षेत्र—तराई, पहाड र हिमालको सुरक्षा सन्देशसँगै ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा लिएर सगरमाथा आरोहणको लागि बैशाख १५ गते प्रस्थान गरेका थिए।
उनीलाई बैशाख १४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा आरोहणको शुभकामनासहित हार्दिक बिदाई गरेका थिए। सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं। १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन्।