• २०८३ जेठ २२
  • 2026 June 05, Friday

हैदराबादको गुलजार हाउसमा भीषण आगलागी, १७ जनाको मृत्यु

  • २०८२ जेठ ४, आइतबार १३:१५

नयाँ दिल्ली। आइतबार बिहान हैदराबादको चारमिनार नजिक रहेको गुलजार हाउसमा भीषण आगलागी हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ। मृतकमध्ये केही बालबालिकासमेत छन्।

आगलागीको कारण प्रारम्भिक रूपमा सर्ट सर्किट मानिएको छ, तर आधिकारिक पुष्टि हुन बाँकी छ। बिहान करिब ६ः३० बजे आगलागीको जानकारी पाएको दमकल विभागले तत्काल घटनास्थल पुगेर उद्धार कार्य थालेको थियो। हालसम्म १० देखि १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने केही मानिस अझै भवनभित्र फसेका छन्।

घाइतेमध्ये करिब १० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ।तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार सुनिश्चित गर्न निर्देशन दिएका छन्। केन्द्रीय मन्त्री जी. किशन रेड्डी र एआईएमआईएमका विधायक मुमताज अहमद खानले घटनास्थलको निरीक्षण गरी विवरण लिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत लेखेका छन्, “हैदराबादको आगलागी घटनाबाट म स्तब्ध र दुःखी छु। पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई जनही रु २ लाख र घाइतेहरूलाई जनही रु ५०,००० रुपैयाँ राहतस्वरूप प्रदान गरिने घोषणा गरिएको छ।

  • २०८२ जेठ ४, आइतबार १३:१५