काठमाडौँ ।विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्न सफल कीर्तिमानी पर्वतारोही प्रीति अग्रवाल रतेरियाको सम्मानमा राजधानीमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
नेपालमा बसोबास गर्ने मारवाडी समुदायबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो व्यक्तिको रूपमा इतिहास रच्न सफल भएकोमा उनलाई सम्मान गरिएको हो। मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद कुमार अग्रवालको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य माननीय पूनम अग्रवालको प्रमुख आतिथ्यतामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद कुमार अग्रवालले प्रीति अग्रवालले मिति २०८३ जेष्ठ ७ गते (२०२६ मे २१) का दिन सगरमाथाको सफल आरोहण गरेर मारवाडी समुदायको मात्र नभई नेपालकै पर्वतारोहण क्षेत्रमा गौरवमय इतिहास रचेको बताए।
आरोहणका क्रममा प्रीतिले सगरमाथाको शिखरमा मारवाडी सेवा समिति नेपाल, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको लोगो अंकित झण्डा फहराएर समुदायको पहिचानलाई विश्वको उचाइमा पुर्याएको भन्दै उनले बधाई ज्ञापन गरे।
कार्यक्रमकी प्रमुख अतिथि माननीय पूनम अग्रवालले मारवाडी समुदायकी महिलाले सगरमाथा जस्तो कठिन शिखरको सफल आरोहण गर्नु साहसिक र गर्वको विषय भएको बताइन्। उनले प्रीतिको यो सफलताले सम्पूर्ण नेपाली महिलाहरूलाई देश र समाजको हरेक क्षेत्रमा अघि बढ्न ठूलो प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
मारवाडी सेवा समिति नेपाल, नेपाल राष्ट्रिय मारवाडी परिषद्, अग्रवाल सेवा केन्द्र, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाहरूले उनलाई सम्मान गरेका थिए। सम्मानित गर्ने संस्थाहरूमा सुनसरी र झापाका मारवाडी समाज, नेपाल मारवाडी ब्राह्मण सेवा संघ, बजरंग सत्संग मण्डल, नेपाल जैन परिषद्, श्री श्याम सत्संग मण्डल, र दादीप परिवार लगायत रहेका थिए।
मारवाडी सेवा समिति नेपालका महासचिव धर्मेन्द्र अग्रवालले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष पवन कुमार अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए।
