• २०८३ साउन ४
  • 2026 July 20, Monday

राउण्ड टेबल नेपालद्वारा त्रिनेत्र फाउण्डेशनका दृष्टिविहीन बालबालिकाका लागि ऐतिहासिक आवासीय भवन उद्घाटन

काठमाडौं । राउण्ड टेबल नेपालले आइतबार त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि विशेष रूपमा निर्माण गरिएको आधुनिक आवासीय भवनको उद्घाटन गरेको छ। करिब नौ महिनाको अवधिमा सम्पन्न भएको यो परियोजना राउण्ड टेबल नेपालको इतिहासकै सबैभन्दा ठूलो तथा प्रभावशाली सामाजिक सेवा परियोजनामध्ये एक हो।

करिब रु. १ करोड ८३ लाख लागतमा निर्माण सम्पन्न भएको यस आवासीय भवनले दृष्टिविहीन बालबालिकाको जीवनस्तर उकास्ने, उनीहरूलाई सुरक्षित, सम्मानजनक तथा गुणस्तरीय बसोबासको वातावरण उपलब्ध गराउने उद्देश्य बोकेको छ। एक रोपनी क्षेत्रफलमा निर्मित यस भवनमा ४८ भन्दा बढी बालबालिकाको बसोबासको व्यवस्था गरिएको छ। भवनमा छबटा आवासीय कोठा, विशाल भोजन कक्ष, पूर्ण सुविधासहितको भान्सा, स्नानगृह तथा अन्य आवश्यक पूर्वाधारहरू निर्माण गरिएको छ, जसले बालबालिकाको समग्र विकास, सुरक्षा, सहजता र सम्मानजनक जीवनयापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यस महत्त्वपूर्ण परियोजना डोल्मा फाउण्डेशन, माज्जाली परिवार, विभिन्न व्यक्तिगत दाताहरू, संस्थागत साझेदारहरू तथा शुभेच्छुकहरूको उदार सहयोगबाट सफलतापूर्वक सम्पन्न भएको हो। उनीहरूको सहयोगले एउटा भवन मात्र निर्माण गरेको होइन, दृष्टिविहीन बालबालिकाले सम्मानपूर्वक जीवन बिताउन, शिक्षा हासिल गर्न र उज्ज्वल भविष्यको सपना देख्न सक्ने वास्तविक घर निर्माण गरेको छ।

यस परियोजनाको नेतृत्व काठमाडौं राउण्ड टेबल-१ का अध्यक्ष ट्र. सञ्जीव अग्रवाल ले गरेका थिए। उनको दूरदृष्टि, नेतृत्व र निरन्तर समर्पणकै कारण यो ऐतिहासिक परियोजना सफलतापूर्वक सम्पन्न हुन सकेको हो।
उद्घाटन समारोहमा विश्वप्रसिद्ध नेत्र विशेषज्ञ तथा मानवतावादी डा. सन्दुक रुइत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा डोल्मा फाउण्डेशन, माज्जाली परिवार, राउण्ड टेबल नेपाल, विभिन्न विशिष्ट अतिथि, दाताहरू, स्वयंसेवकहरू, सहयोगीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै राउण्ड टेबल नेपालका प्रतिनिधिहरूले प्रत्येक बालबालिकाले आफ्नो शारीरिक अवस्था वा आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि समान अवसर प्राप्त गर्नुपर्ने संस्थाको दृढ विश्वास पुनः व्यक्त गरे।

‘यो परियोजनाले साझा उद्देश्यका साथ व्यक्ति, परिवार, संस्था र समुदाय एकजुट हुँदा असम्भव देखिने कार्य पनि सम्भव बन्न सक्छ भन्ने सशक्त उदाहरण प्रस्तुत गरेको छ। यस महान अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दाता, साझेदार, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। हामी विश्वास गर्छौं कि यो घर प्रत्येक बालबालिकाका लागि सुरक्षित, सम्मानित र आशाले भरिएको भविष्य निर्माण गर्ने प्रेरणादायी थलो बन्नेछ’ उनीहरुले भने ।

यो आवासीय भवन करूणा, सहकार्य र निःस्वार्थ सेवाको स्थायी प्रतीकका रूपमा रहनेछ। यसले सामूहिक उदारता र सामाजिक उत्तरदायित्वबाट दीर्घकालीन तथा अर्थपूर्ण परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश प्रवाह गर्दै आगामी पुस्तासम्म दृष्टिविहीन बालबालिकालाई आफ्नै घरको अनुभूति दिलाउने अमूल्य सम्पदाका रूपमा सेवा प्रदान गर्नेछ।