
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पूर्वगृहमन्त्री रवि लामिछानेले ३४ दिनको कार्यकालमै तस्करहरूलाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान गृहमन्त्रीको कामप्रति असन्तुष्टि जनाउँदै लामिछानेको नेतृत्वमा भएको गृह मन्त्रालयको प्रभावकारिता उल्लेख गरे। “३४ दिनमात्र गृहमन्त्री हुँदा रवि लामिछानेले सबै तस्कर नियन्त्रणमा लिएका थिए,” उनले भने।
त्यसैगरी बैठकमा सत्तारूढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पनि विपक्षी दलहरूको आलोचना प्रति प्रतिक्रिया जनाउँदै भने, “कांग्रेस र एमालेको सरकार भएकाले मुलुकमा विकास हुन सकेन भन्ने जस्ता अभिव्यक्तिहरू संसद् र सार्वजनिक कार्यक्रममा आइरहेका छन्। यस्ता कुरा केवल जनतालाई लोभ्याउनका लागि उठाइएका हुन्।”
बर्तौलाले विपक्षी दलहरू सरकारमा हुँदा पनि जनतामा गहिरो निराशा देखिएको भन्दै त्यसको सन्दर्भमा अहिलेको सरकार जिम्मेवार रूपमा अगाडि बढिरहेको बताए।साथै, उनले सांसदहरूले निर्वाचनमा जनतालाई गरेका प्रतिबद्धता कार्यान्वयन गर्न विकास योजना आफ्नो निर्वाचन क्षेत्रमा पार्न पहल गर्नु अस्वाभाविक नभएको धारणा राखे।