काठमाडौं। गृहमन्त्री रमेश लेखकले राजधानीको तीनकुनेमा चैत १५ गते भएको घटना आपराधिक र हिंसात्मक भएको स्पष्ट पार्दै त्यसलाई कुनै पनि धर्मसँग नजोड्न आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले भने, “तीनकुने घटनाको आगजनी र हिंसा अपराध हो। यसलाई धर्मसँग जोडेर नहेर्न सबैलाई आग्रह गर्दछु। हिंसालाई कुनै पनि धर्मको आवरण दिन सकिँदैन।”
गृहमन्त्री लेखकले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिँदै दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे। उनले हिन्दु धर्मप्रति आस्था रहेको उल्लेख गर्दै भने, “तर यसको अर्थ अरू धर्महरू गलत हुन् भन्ने होइन। आपराधिक काम कुनै पनि धर्मको नाममा गर्नु हुँदैन।”
तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको झडप, तोडफोड र आगजनीको कारण भएका क्षतिबारे अनुसन्धान भइरहेको उनले बताए। प्रदर्शनमा गोली लागेर घाइते भएका दुई जनाको निःशुल्क उपचार सरकारले गरिरहेको जानकारीसमेत उनले दिए।
घटनामा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको स्मरण गर्दै गृहमन्त्री लेखकले यस्ता आपराधिक घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको बताए।