काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) बाट दूध उत्पादक किसानलाई ८५ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जानकारी दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालले ‘दूध उत्पादक किसानलाई ५ अर्ब रुपैयाँ तिर्न बाँकी छ भन्ने कुरा सत्य हो कि होइन?’ भन्ने प्रश्न उठाएका थिए। जवाफमा मन्त्री अधिकारीले पाँच अर्ब भने जति होइन तर डीडीसीमार्फत ८५ करोड रुपैयाँको बक्यौता अझै बाँकी रहेको पुष्टि गरे।
“पाँच अर्ब त होइन, तर बक्यौता भने बाँकी छ। बाँकी भएपछि अलिकति धेरै भनियो भने पनि आपत्ति छैन,” मन्त्री अधिकारीले भने, “आज भने दूधको पैसा बाँकी छैन भन्न पाउँला भनेको थिएँ, भन्नै पर्यो। यथाशीघ्र भुक्तानीका लागि पहल भइरहेको छ।”
उनले निजी क्षेत्रका डेरीबाट किसानलाई भुक्तानी बाँकी भए पनि त्यसको यकिन विवरण नआएको बताए। मन्त्री अधिकारीका अनुसार नेपाल हाल दूध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर भइसकेको छ। तर, फलफूल र तरकारीमा आत्मनिर्भरता हासिल गर्न अझै चुनौती बाँकी रहेको पनि उनले उल्लेख गरे।