सांसद ज्ञानेन्द्र शाहीको आरोप : राज्यले कर्णालीमाथि अन्याय होइन, अपराध गरिरहेको छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेशप्रति राज्यले बेवास्ता मात्रै होइन, अपराध नै गरिरहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले हुम्लामा हिमपहिरो जाँदा पनि सरकार उद्धारमा सक्रिय नभएको भन्दै तीव्र आलोचना गरे। उनले हेलिकप्टरमार्फत उद्धार गर्न सकिने अवस्थामा समेत सरकारले कुनै पहल नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।

“हुम्लामा हिमपहिरो जाँदा जनता संकटमा छन्, तर सरकारले एउटा हेलिकप्टरसमेत पठाउन सकेको छैन,” उनले भने, “मन्त्रीहरू सवारी गर्दा हेलिकप्टर तताउने सरकारले जनताको ज्यान जोखिममा हुँदा किन चुप छ?”

शाहीले सरकारलाई प्रश्न गर्दै भने, “सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्‍यो कि, हेलिकप्टरमै खिया लागेको हो?”

सांसद शाहीले कर्णालीलाई राज्यले निरन्तर उपेक्षा गर्दै आएको दाबी गर्दै चेतावनीस्वरूप भने, “यदि सरकारले कर्णालीलाई राज्यबाट अलग बनाउँछ भने हामीकहाँ व्यवस्था नै नहुन पनि कर्णाली आफैं चलाएर देखाउने सामर्थ्य छ।”

उनले हिमपहिरोका कारण कर्णालीवासी संकटमा परेको अवस्थामा सरकारले ‘सगरमाथा संवाद’ जस्ता कार्यक्रमहरू गरेर नाटक गरिरहेको टिप्पणी गरे।शाहीले सभामुखसमक्ष माग गर्दै भने, “कर्णालीका जनता पनि जनता हुन्, उनीहरूलाई राज्यको जिम्मेवारीको अनुभूति हुनुपर्छ। सभामुखले यसबारे रुलिङ दिनुपर्छ।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१