काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले मापदण्ड विपरीत सेवा दिँदै आएका पाँच वटा फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। तीमध्ये एकविरुद्ध जिल्ला अदालत बाँकेमा र चारवटा विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा दर्ता गरिएको खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिए।
कार्यालयका अनुसार नेपालगञ्जका विभिन्न वडामा सञ्चालनमा रहेका क्वालिटी चाउमिन तथा सस उद्योग, डिउ ड्रप ड्रिङ्किङ वाटर उद्योग, वाई के ड्रिङ्किङ वाटर उद्योग, गोल्डेन प्रशोधित पिउने पानी, र बिस्मिल्ला होटेल विरुद्ध मुद्दा दर्ता गरिएको हो।
विशेषगरी बिस्मिल्ला होटेल विरुद्ध गम्भीर अनियमितता भेटिएपछि बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। नेपालगञ्ज–११ इदगाह रोडस्थित उक्त होटलले खाद्य वस्तु—विशेषगरी बिर्यानी, शोर्मा र कबाबमा बाह्य सिन्थेटिक रङ प्रयोग गरेको, भान्सा क्षेत्र अत्यन्त फोहोर रहेको, र होटलको दर्ता विवरणमा पनि अस्पष्टता देखिएको कार्यालयका सूचना अधिकारी रामहरि लामिछानेले बताए।
बिस्मिल्ला केटर्स चिकन शोर्मा एन्ड बिर्यानी होटलको नाममा बोर्ड राखिएको भए पनि घरेलु तथा साना उद्योग कार्यालयमा भने ‘बिस्मिल्ला होटेल’ नाममा दर्ता गरिएको पाइएको छ। केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका, वडा कार्यालय र वडा प्रहरी कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गरेपछि यो अनियमितता बाहिर आएको हो।
प्रारम्भिक अनुसन्धानपछि कानुन अनुसार दोषी पाइएको खण्डमा सम्बन्धितलाई ५० हजार रुपैयाँसम्म जरिवाना, कैद वा दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ। नेपालगञ्जमा कार्यालयले हालसम्म ४३ वटा खाद्य बजार, चारवटा दाना बजार, ३८ वटा होटल तथा रेस्टुरेन्ट, ११० वटा खाद्य उद्योग र चारवटा दाना उद्योगमा अनुगमन गरेको जनाएको छ।