काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शिष्टाचार भेट गरेका छन्। आज बिहान अर्थ मन्त्रालयमा गएका गभर्नर पौडेलले पदभार ग्रहणपछिको भेटवार्तामा अर्थमन्त्रीसँग आर्थिक समन्वयको विषयमा छलफल गरेका हुन्।
भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय कायम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
गभर्नर पौडेलले अर्थतन्त्र तथा मौद्रिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि आफूले प्रभावकारी पहल गर्ने विश्वास व्यक्त गरे। उनले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सरकारको वित्तीय नीतिलाई कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले वित्तीय प्रणालीको प्रभावकारिता वृद्धिका लागि राष्ट्र बैंकको सुपरीवेक्षण क्षमता अभिवृद्धि गर्ने बताएका छन्। शिष्टाचार भेटका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले गभर्नर पौडेललाई शुभकामना व्यक्त गरेका थिए।