काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणको नाफा–घाटा सम्बन्धी प्रकरणमा निष्पक्ष छानबिन गर्न प्राधिकरणका वर्तमान र पूर्व कार्यकारी निर्देशक तथा महालेखा परीक्षकलाई संसदीय समितिमा झिकाएर छलफल गर्न माग गरेका छन्।
बुधवार बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सापकोटाले कुलमान घिसिङ कार्यकारी निर्देशक रहेका बेला गरिएको अडिट र हाल हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक बनेपछि गरिएको अडिटमा फरक देखिएको भन्दै स्पष्टता आवश्यक रहेको बताए।
“हिजो कुलमानजी हुँदाको अडिट प्रणाली फरक थियो, अहिले तपाईंहरूले अर्को अडिट प्रणालीबाट अघि बढ्नुभयो। त्यसैले यस विषयमा प्रष्ट हुन आवश्यक छ,” उनले भने।
उनले निष्पक्ष ढंगले छानबिन गर्न वर्तमान एमडी, पूर्व एमडी घिसिङ र महालेखा परीक्षकलाई समिति समक्ष उपस्थित गराई छलफल गर्नुपर्नेमा जोड दिए। “विद्युत् प्राधिकरणको बहालवाला एमडीलाई झिकाऔं, कुलमानजीलाई झिकाऔं, महालेखालाई ल्याऔं। सबैका कुरा सुनेर पारदर्शी ढंगले निष्कर्षमा पुग्न जरुरी छ,” सापकोटाले भने।
उनले प्रतिपक्षले कुलमानको बचाउ गर्ने र सत्तापक्षले खेदो खन्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि जोड दिए। “कुलमान दोषी ठहरिए कानुनअनुसार कारबाही हुनु पर्छ, दोषी नभए त्यो पनि स्पष्ट हुनुपर्छ,” उनले स्पष्ट पारे। सापकोटाले राम्रो कामलाई प्रशंसा र गल्तीलाई आलोचना गर्नुपर्ने जनप्रतिनिधिको भूमिका हो भन्दै निष्पक्ष निर्णयका लागि ढिलाइ नगर्न आग्रह गरे।