काठमाडौं। भारतको छत्तीसगढ राज्यअन्तर्गत नारायणपुर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीच भएको भीषण मुठभेडमा २६ जना नक्सलवादी मारिएको छ। घटनाको पुष्टि छत्तीसगढका उपमुख्यमन्त्री अरुण साओ र विजय शर्माले गरेका छन्।
उपमुख्यमन्त्री साओले एएनआईसँग कुरा गर्दै सन् २०२६ को मार्चसम्म छत्तीसगढलाई नक्सलमुक्त बनाउने लक्ष्यसहित सरकार र सुरक्षा निकाय क्रियाशील रहेको बताए। “राज्यमा हाम्रो सरकार बनेपछि बस्तर क्षेत्रलाई नक्सलमुक्त बनाउन निरन्तर अभियान चलिरहेको छ,” उनले भने, “नारायणपुरमा भएको मुठभेडमा दुई दर्जनभन्दा बढी नक्सलवादीको ज्यान गएको छ।”
त्यस्तै, उपमुख्यमन्त्री विजय शर्माले नारायणपुर जिल्लाको अबुझमाडको जंगल क्षेत्रमा भएको मुठभेडमा कम्तीमा २६ जना नक्सलवादी मारिएको जानकारी दिए।
उनका अनुसार, मुठभेडका क्रममा एक जना सैनिक घाइते भएका छन् भने एक सहयोगीको मृत्यु भएको छ। “घाइते जवानको उपचार भइरहेको छ र उनको अवस्था खतरामुक्त रहेको छ,” शर्माले एएनआईसँग भने। साथै, मुठभेडसँग सम्बन्धित थप विवरणहरू संकलन भइरहेको र विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने बताइएको छ।
